सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालयहरुले पाठ्यपुस्तकको अभाव यो वर्ष पनि बेर्होर्न बाध्य हुनुपरेको छ । अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका कारण उनीहरुको पठनपाठन प्रभावित बनेको छ ।
सुदूरपश्चिममा करिब ७ लाख थान पाठ्यपुस्तकको अझै अभाव देखिएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रदेश कार्यालयका अनुसार कक्षा ४ देखि १२ सम्म २२ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने भए पनि हालसम्म करिब १५ लाख थान पाठ्यपुस्तकमात्र आइपुगेको बताइएको छ ।
प्रदेश राजधानी धनगढीकै विद्यालयका धेरैजसो विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् । विद्यार्थीको हातमा किताब नभएपछि पठनपाठनमा समस्या बढेको शिक्षकहरुको भनाइ छ । शिक्षकले पाठ्यक्रम हेरेर पढाउने हुँदा विद्यार्थीको हातमा किताब नपुगेकोले समस्या बढेको हो ।
किताबविना विद्यार्थीलाई विषयबस्तु बुझाउन गाह्रो हुने र गृहकार्य पनि दिन नसकिने शिक्षकहरु बताउँछन् । विद्यालयहरुले खासगरी ४ देखि १० कक्षासम्मका विद्यार्थीलाई एउटा पनि पाठ्यपुस्तक वितरण गर्न सकिरहेका छैनन् । पाठ्यपुस्तक नपाएपछि विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको छ ।
जनक शिक्षाको प्रदेश कार्यालय धनगढीका प्रमुख ध्रुवराज पन्तले करिब ७ लाख थान पाठ्यपुस्तक आउने क्रममा रहेको भएपनि सबै पाठ्यपुस्तक आइपुग्न असार पहिलो सातासम्म लाग्ने जानकारी दिए । । सबैभन्दा बढी कक्षा ७ र ९ को करिब ८० प्रतिशत किताब आइसकेको पन्तले बताए ।
News Source: www.bishwokhabar.com