काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताएका छन । सभापति दउवाले सूर्यविनायकमा पुगेर एमाले नेता तथा सोही क्षेत्रका सांसद महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन् । देउवाले महेश बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन् ।बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् भन्दै चुनौति दिएका छन। केही दिनअघि महेश बस्नेतले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए । भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए ।