२० साउन, काठमाडौं ।
अमेरिकामा एकै सातामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्कमा २८ वर्षीय नेपाली युवा विपिन लम्सालको र विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको मृत्यु भएको हो । गत जुलाई २७ तारिख मङ्गलबारको दिन विपिन लम्सालको र जुलाई २८ तारिख बुधवार सृजन कुँवरको मृत्यु भएको हो ।
दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । विपिन कामबाट घर फर्किएर शौचालय प्रयोग गर्न गएको बेला र सृजन पसल (स्टोर)मा काम गरिरहेको समयमा बेहोस भएका थिए । एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्ति अनुसार नेपालमा पर्वत घर भएका विपिन लम्साल २०१६ देखि अमेरिकामा बस्दै आएका थिए । काठमाडौँ दक्षिणकाली नेपाल घर भएका विविधता चिट्ठा (डी भी लोटरी )विजेता सृजन कुँवर भने २०१९ देखि अमेरिका बस्दै आएका थिए ।
दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वाराले बताएका छन् ।