१८ साउन, काठमाडौं ।
सिन्धुपाल्चोकमा गएराति पनि ठूलो बाढी आएको छ । शनिबार साँझदेखि मेलम्ची खोलामा सुरु भएको बाढी आउने क्रम अहिले पनि जारी रहेको छ । खोलाले आसपासका स्थानमा ब्यापक कटान गरिरहेको छ । बाढीले पुल र सडक बगाएपछि मेलम्ची बजारसँगको सम्पर्क पनि टुटेको छ ।
नदीले अहिले धार नै परिवर्तन गर्न लागेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताए। यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले बताए । ‘खोलाले धार परिवर्तन गरेको छ। कटान गरिरहेको छ। बाटो खसालिरहेको छ। नदी किनारका सबै जग्गाहरु कटान गरिरहेको छ’, अध्यक्ष अर्यालले भने, ‘मान्छे छिर्न पनि गाह्रो भइरहेको छ । हेलम्बु र मेलम्चीको आवत जावत पूर्ण रुपमा बन्द भएको छ ।’ उनका अनुसार अब एउटा मात्र झोलुङ्गे पुल बचेको छ । ‘अवस्था हृदयविदारक छ । मान्छेहरु रोइरहेका छन् । कराइरहेका छन’, अध्यक्ष अर्यालले बताए । मान्छेलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ ।
मेलम्ची बजारको मध्य भागमै बाढी पसेको छ भने बजारमा पुग्ने सबै बाटा बन्द भएका छन् । हिजो बाढीले हेलम्बुको चनौटेस्थित हेलम्बु जोड्ने रातो पुल र ग्यालथुममा एउटा झोलुङ्गे पुल बगाएको थियो । शनिबार साँझ यता बाढीले दुई दर्जन घर बगाइसकेको प्रहरीले जनाएको छ ।
न्युज सेवा