बागमती प्रदेश सरकारले ५ वटा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी प्रदेश सरकारले सहायता रकमसमेत उपलब्ध गराएको छ ।वैज्ञानिक खोज तथा अनुसन्धानमा नयाँ आयाम ल्याउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरेको हो । प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालनका लागि युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापनासहित समिति निर्माण गरी कार्यविधिसहित ५ वटा विषय छनोट गरेको हो । प्रदेश सरकारले प्रोत्साहन कार्यक्रमका लागि आवेदन आह्वान गरेको दोस्रो चरणमा १०२ वटा प्रस्तावमध्ये ५ वटा विषय उपयुक्त ठहर गरी अनुसन्धान कार्य अघि बढाएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल कँडेलले जानकारी दिए ।यस्ता छन् अनुसन्धानका विषय मन्त्रालयले राष्ट्रिय निकुञ्जहरूमा वन तथा वन्यजन्तुको अवलोकनका लागि प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडीहरुलाई विद्युतीय सवारीमा परिणत गर्ने कार्यको अनुसन्धान गर्न आर्थिक सहायतासहित अनुमति दिएको छ । मन्त्रालयले बसन्त आले र दिपेश बुढाथोकीको टीमलाई यसबारे अनुसन्धान गर्न १९ लाख ९८ हजार ७४५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएर गत फागुन १३ गते सम्झौता गरेको छ । उक्त टिमले चितवन राष्ट्रिय निकुञ्जमा यसबारे अनुसन्धान गर्ने जनाइएको छ । सो अनुसन्धान कार्य सम्झौता भएको मितिले ८ महिनाभित्र सम्पन्न गरिसक्नु पर्नेछ । त्यस्तै पहाडी भेगमा पाइने रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोगबारे अनुसन्धान गर्न मन्त्रालयले प्रवेश पोखरेल, समीक्षा गिरी र पदमराज अवस्थीको टीमलाई छनोट गरी ३४ लाख ९४ हजार ३०१ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ । रातो च्याउ नेपालको पहाडी भेगको मुढाहरुमा उत्पादन हुने र महँगो मूल्यमा बिक्री वितरण हुने गरेको छ । मन्त्रालयले माछा पालनमा महत्वपूर्ण मानिएको इन्जाइम उत्पादन स्थानीय माछा पोखरीमै गर्ने विषयको अनुसन्धानका लागि ७० लाख ५४ हजार ८०५ रुपैयाँ आर्थिक सहायता दिएर आगामी डेढ वर्षमा अनुसन्धान सम्पन्न गर्ने गरी काम अगाडि बढाउन अनुमति दिएको छ । माछा पालन गर्दा पानी परिवर्तन र कम दानामै उत्पादन बढाउनका लागि रोजिना थापाको टीमले उक्त इन्जाइम स्थानीय पोखरीमै उत्पादन सम्बन्धी अनुसन्धान गरिरहेको जनाइएको छ । हाल सो इन्जाइम भारत लगायतका देशबाट आयात गर्नुपर्ने भएकाले आर्थिक हिसाबले पनि महँगो पर्ने भएकाले इन्जाइम उत्पादन गर्ने व्याक्टेरिया नै स्थानीय पोखरीमा उत्पादन गर्नेबारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।बागमती प्रदेशमा पाइने प्राकृतिक जडीबुटी खोजी गरी त्यसको परिचय, त्यसमा पाइने रासायनिक तत्व र औषधि उत्पादन तथा उपचारमा प्रयोगको बारेमा अनुसन्धान गरी तथ्यगत सूची तयार पारेर वेबसाइट माफर्त सार्वजनिक गर्ने उद्देश्यका साथ भुवन गुरुङको टीमलाई ६९ लाख ६७ हजार ५६९ रुपैयाँको आर्थिक सहायता प्रदान गरी अनुसन्धानको काम अघि बढाएको मन्त्रालयले जनाएको छ । उक्त अनुसन्धान २ वर्षभित्र सम्पन्न गर्ने गरी मन्त्रालयले गत फागुनमा सम्झौता गरेको छ । त्यस्तै मन्त्रालयले मानिसको दाँत परिवर्तनको तेस्रो विधिको अनुसन्धान गर्न डा। पराक्रम पराजुलीको टिमलाई १५ लाख २२ हजार १ सय १० रुपैयाँको आर्थिक सहायता दिएर काम सुरु गरेको छ । विश्वमा दाँत परिवर्तनको २ वटा विधि रहेको र त्यसको विविध समस्याहरूको समाधानका लागि डेन्टल प्लेट नाम दिएर डा। पराजुलीले नेपालमै अनुसन्धान गरिरहेका हुन् । ८ महिनाको अवधिभित्र अनुसन्धान कार्य सम्पन्न गर्ने गरी गत फागुनमा मन्त्रालयले सम्झौता गरी आर्थिक सहयोगसमेत उपलब्ध गराएको जनाइएको छ ।