१३ साउन, काठमाडौं ।
क्रियाशील सदस्यता छानविन समितिले मंगलबार बुझाएको प्रतिवेदन र क्रियाशील सदस्य विवाद समाधानका विषयमा छलफल गर्नका लागि आज नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको छ। बैठक ११ बजेपछि देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको हो।
समितिले देशभरका ८ लाख ५२ हजार क्रियाशील सदस्यको नामावाली तयार पारेर सुझावसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।बारा, सप्तरी, धनुषा र सर्लाहीको नयाँ सदस्य वितरणको विवाद शीर्ष नेताहरुकै बीचबाट सुल्झाउन आग्रह गर्दै समितिले प्रतिवेदन बुझाएको छ । समिति सदस्य कल्याण गुरुङले नै प्रतिवेदनमा असहमति जनाएपछि विवाद झन बढ्न सक्ने देखिएको छ । समितिले बुझाएको प्रतिवेदन र विवाद भएका स्थानको छलफलका लागि सभापति देउवाले बैठक तय गरेपछि प्रतिवेदनबारे धारणा बनाउन शीर्ष नेताहरु मंगलबारदेखि आन्तरिक छलफलमा जुटेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो । संस्थापन पक्षले एकलौटी ढंगले क्रियाशील सदस्यता वितरण गरेको संस्थापनइतर समूहले आरोप लगाएको छ। कांग्रेस क्रियाशील सदस्यको विवादले पार्टीको आगामी १४ औँ महाधिवेशन प्रभावित हुन शुरु भएको छ ।