ओली र नेपालका सर्तैसर्त, एकता प्रयासमा जटिलता बढ्दै,

  • Saptarangi Media
  • शुक्रबार, साउन ८, २०७८ १४:४५
ओली र नेपालका सर्तैसर्त, एकता प्रयासमा जटिलता बढ्दै,


१,) नेपाल सहितका नेताहरुले गम्भीर गल्ती गरेका छन् तर एकतामा आए आममाफि दिन सकिन्छ् ।
२,) कोहि घद्धरबाट त्यक्तिकै बाहिर निस्किन चाहादैन तर अपमान सहेर पनि बस्दैन्
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक एकताका लागि सर्तैसर्त तेर्स्याएका छन् । अध्यक्ष ओलीले बिहीबार नेपाल विगतको गल्ती स्विकार्दै ‘आत्मसमर्पण’ सहित आए एकता सम्भव रहेको अभिव्यक्ति दिएका छन् । वरिष्ठ नेता नेपालले भने ‘अपमानजनक’ एकताभन्दा ‘विद्रोह’ कै विकल्पमा जाने स्पष्ट पारेका छन् ।
सर्वोच्च अदालतले नेकपाको एकता बदर गरिदिएसँगै ब्युँतिएको एमालेमा जारी विवाद नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै ‘निर्णायक’ दिशातिर उन्मुख छ । यही बेला ओली र नेपालले एकअर्काप्रति आक्षेपपूर्ण अभिव्यक्ति दिइरहँदा एकता प्रयास थप जटिल बनेको दोस्रो तहका नेताहरू बताउँछन् ।
अन्तिमसम्म एकताको प्रयास गर्ने निर्णय
एमालेको बिहीबार सकिएको दसौं केन्द्रीय कमिटी बैठकले अन्तिमसम्म एकताको प्रयास जारी राख्ने र जतिसक्दो धेरै नेतालाई समेट्ने निर्णय गरेको छ । ‘अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्ने गरी र पार्टीमा योगदान गर्ने गरी आउन चाहनेलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने बताउनुभएको छ, छलफल चलिरहेकाले त्यस सम्बन्धमा अरू निर्णय गरेका छैनौं,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘एकता प्रयास जारी राख्ने निर्णय भएको छ । आन्दोलनको अहित हुने गरी गतिविधिमा संलग्न हुने साथीहरूलाई कमीकमजोरी सच्याएर आउन अपिल गरिएका छौ ।’
नेपालले बुझाएनन् स्पष्टीकरण
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका खनाल–नेपाल पक्षका १८ सांसदले स्पष्टीकरण बुझाएका छन् । नेता नेपाल, जीवनराम श्रेष्ठ, कलिला खातुन र गोपाल बम गरी ४ सांसदले भने स्पष्टीकरणको जवाफ दिएका छैनन् । ‘हामी १८ जनाले बिहीबार संसदीय दलको कार्यालयमा गएर पत्र बुझाएका छौं, हामीले स्पष्टीकरण दिएका छैनौं, मागेका छौं,’ सांसद मेटमणि चौधरीले भने ।
सांसद चौधरीका अनुसार काठमाडौं बाहिर रहेका केही सांसदले स्पष्टीकरण बुझाएका छैनन् । वरिष्ठ नेता नेपालले स्पष्टीकरण नबुझाउने बताएका छन् । स्वकीय सचिव मोहन गौतमले पनि नेता नेपालले स्पष्टीकरण नबुझाएको जानकारी दिए ।
पिपुल्स भोलेन्टियर घोषणा
खनाल–नेपाल पक्षीय युवा संघले आठौं महाधिवेशनबाट विघटित ‘पिपुल्स भोलेन्टियर’ ब्युँत्याएको छ । पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार युवा संघले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् ।

  • Saptarangi Media
  • शुक्रबार, साउन ८, २०७८ १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट