कोरोना भाइरसको प्रभाव र अर्थतन्त्रको पुनरोत्थान

  • Saptarangi Media
  • सोमवार, जेष्ठ १०, २०७८ १५:१२
कोरोना भाइरसको प्रभाव र अर्थतन्त्रको पुनरोत्थान

लक्ष्मी प्रसाद शर्मा, अधिवक्ता

सन २०१९ डिसेम्बर तेस्रो साताबाट चिनको बुहानबाट शुरु भएको कोरोना भाइरसको दोस्रो लहर नेपालमा  पहिलो पटक देखा परेको एक बर्ष नबित्दै फेरि तिब्र रुपमा बढदै गएको छ । गत बर्ष चैत्रको पहिलो साताबाट लगाएको लकडाउन विभिन्न चरणमा यसलाई खुकुलो गर्दै अर्थतन्त्रलाई पूर्ण रुपमा चलायमान बनाउन लागिएको ६/७ महिना नवित्दै फेरि नेपाल सरकारले बैशाख १६ गते देखि निषेधाज्ञा जारि गरिएको छ । कोरोनाले विश्वलाई नै आक्रान्त पारिरहेको वर्तमान अवस्थामा यस्को प्रभाव कुनै एक देश,क्षेत्र,स्थानमा मात्रै नभएर पुरै देशको विकासमा बहुआयामिक पक्षहरुमा यसको प्रभाव रहन्छ । यसको रुप र फैलावट पुर्वानुमान गर्न सकिने अवस्थामा छैन । यो भाइरसको प्रभाव अन्तर राज्जीय र विश्वव्यापी बनेको छ । कुनै पनि देश यस भाइरसबाट अछुतो रहन सकेका छैनन  । भाइरसको बंशानुगत बनावटमा आउने परिवर्तन र फैलावटले विभिन्न देशहरुमा फरक फरक स्वरुपका भाइरसहरु फेला परेका छन । यस्तो परिवर्तित(म्युटेट) भाइरसहरु धेरै संक्रामक र ज्यादै हानिकारक पाइएको छ । त्यसैले यो भाइरस विरुद्धको लडाई विश्वकै चिन्ता र सरोकारको विषय बनेको छ । यसको प्रभाव विश्वव्यापी हुनुका साथै कुनै पनि देशको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक तथा मनोबैज्ञानिक पक्षहरुमा प्रभाव परेको हुन्छ ।शिक्षा,स्वास्थ्य,पर्यटन,कृषि,यातायात,रोजगारी,पूर्वाधार विकास,व्यापार व्यवसाय,उद्योगधन्दा,लगानी,उत्पादन,उपभोग र वितरण लगायतका आर्थिक सामाजिक विकासका समग्र क्षेत्रमा यसको प्रभाव रहेको हुन्छ । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख,आत्मनिर्भर,स्वतन्त्र तथा उन्नतिशिल अर्थतन्त्रको विकास गर्न कोभिड नेपालको  मात्र नभई विश्व कै महा शत्रुको रुपमा देखा परेको छ ।

१) विश्वका ठूला विकसित र विकासशिल दुबै मुलुकमा कोरोनाको दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा नराम्ररी प्रभाव पारेको देखिन्छ । त्यसको एउटा गतिलो उदाहरणको रुपमा भारतलाई लिन सकिन्छ । भारतमा खासगरी नयाँ दिल्लीमा अक्सिजन,भेन्टिलेटरको अभावकै कारण कयौँ मानिसहरुको ज्यान अकालमै गइरहेको अवस्था थियो । नेपालमा पनि अझै पनि अक्सिजन,भेन्टिलेटर र आईसियुको अभावमा धेरै जनाको ज्यान गुमाउन बाध्य भएका छन । खासगरी विगतमा नेपालमा अक्सिजन उप्पादन गर्ने उद्योग र कम्पनीको पनि यथार्थ तथ्यांक सरकारसँग नहुनु र भएका उद्योगको पनि उचित नियन्त्रण र नियमन प्रणालीको कमजोरीका कारण अक्सिजनको प्रर्याप्त उत्पादन र आपूर्ति हुन सकिरहेको छैन । कोरोनाका कारण स्वास्थ्य सेवा सुविधा विस्तार गर्न सरकारले ठूलो लगानी स्वास्थ्य  क्षेत्रमा लगाउनु पर्छ । स्वास्थ्य जनशक्तिको थप माग र भएका जनशक्तिको  उचित व्यवस्थापन गर्नु जरुरी हुन्छ । कोरोनाकै कारण देशका उर्जाशिल युवा,बौद्धिक व्यक्ति,विभिन्न पेशाकर्मी र आम नागरिकको जीउ,धनको नोक्सान हुन पुग्दछ ।त्यस कारण स्वासथ्य क्षेत्रमा कोरोनाको प्रभाव निकै भयानक र डरलाग्दो हुन्छ ।

अत: स्वास्थ्य क्षेत्रमा सबै नागरिको समतामूलक पहुँच स्थापित गर्नुपर्छ,अति विपन्न,गरिब र कोरोनाको उच्च जोखिममा रहेका नागरिकलाई उच्च प्राथमिकता दिदै स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ ।स्वास्थ्य क्षेत्रलाई नाफामुखी बाट सेवामुखी क्षेत्रका रुपमा रुपान्तरण गर्दै जानु पर्छ । बढि भन्दा बढी जनसंख्यालाई खोप दिई सामुहिक प्रतिरोधात्मक क्षमता(हर्ड इम्युनिटि पावर) पैदा गराउनु पर्दछ ।

२)शिक्षा विकासको आधार हो । नागरिकलाई परिष्कृत,मर्यादित जीवन र बालबालिकाको लागि उज्जव भविश्यको लागि शिक्षा विकासको महत्वपूर्ण माध्यमको रुपमा रहेको हुन्छ । तर कोरोनाका कारण कयौ बालबालिका शीक्षाबाट बञ्चित हुनु परेको छ । बालबालिका विद्यालयमा भौतिक रुपमा उपस्थित हुन पाएका छैनन । शहरी क्षेत्रमा संचार र इन्टरनेटको सुविधा हुने क्षेत्रका बालबालिकाले अनलाईन क्लास मार्फत शिक्षा आर्जन गरिरहेका  छन ।तर ग्रामिण क्षेत्रका अधिकांश बालबालिका शिक्षाबाट बञ्चित भइरहेका छन । जहाँ इन्टरनेट र संचारको सुविभा छैनन । यसका साथै राष्ट्रिय/अन्तराष्ट्रिय स्तरमा हुने सरकारी/गैरसरकारी क्षेत्रमा हुने तालिम,गोष्टि र सेमिनार हुन सकिरहेका छैनन । व्यक्तिको सर्वाङगीण विकास र सामाजिक आर्थिक रुपान्तरण गर्न शिक्षा महत्वपूर्ण माध्यमको रुपमा रहेको हुन्छ । शैक्षिक संस्थाहरु बन्द हुँदा बालबालिका र युवा जनशक्तिको शिक्षाका अतिरिक्त अन्य व्यक्तित्व विकासका अवसरबाट बञ्चित रहनु पुग्दछन ।

अत शिक्षाको उज्यालो प्रकाशमा सबैलाई पहुँच पुर्याउन शिक्षालई सूचना प्रविधि सँग जोडनु ,वैकल्पिक माध्यमबाट शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनु पर्दछ ।

३)कोरोनाले सबैभन्दा बढी असर पारेको क्षेत्र पर्यटन हो । नेपालमा कुल ग्रार्हस्थ उत्पादनमा करिब २.५ प्रतिशत योगदान मात्रै गरेको भए पनि यसको असर प्रत्यक्ष र अप्रत्यक्ष असर धेरै क्षेत्रमा परेको हुन्छ । होटल,हवाईउड्डयन,रिसोर्ट,होमस्टे,पार्क,पदयात्रा,ट्राभल्स र अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरु बन्द हुँदा त्यहाँ काम गर्ने लाखौँ मानिसको रोजगारी गुम्न सक्ने देखिन्छ । नेपालको पर्यटन क्षेत्रले करिब ५ लाख मानिसलाई रोजगारी दिएको अनुमान छ । त्यसरी लाखौ मानिसको आम्दानी गुम्दा अर्थतन्त्रमा यसको नराम्ररि प्रभाव पर्दछ । सरकारलाई रोजगारी सिर्जना गर्न दबाब सिर्जना हुन्छ । रोजगारी नपाउँदा अन्तत उर्जाशिल मानिस देशमै उत्पादन र उत्पादकत्व बढाउन नलागी विदेश जान बाध्य हुन्छन । यसबाट पर्यटन क्षेत्रबाट नेपालले आर्जन गर्ने विदेशी मुद्रा संञ्चिती नहुँदा भुक्तानी सन्तुलनमा असर पर्दछ ।यसरी पर्यटन क्षेत्र गत वर्षको लकडाउनले पनि धेरै थला पारेको थियो भर्खरै तंग्रिन लागेको पर्यटन क्षेत्र फेरि कोरोनाको दोस्रो लहरले नराम्रो असर पार्ने देखिन्छ ।

यसरी नेपालको तुलनात्मक लाभ र उच्च सम्भावना भएको पर्यटन क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउन र अर्थतन्त्र लाई चलायमान बनाउन पर्यटन मन्त्रालय,पर्यटन विभाग ले प्रभावकारी नीति,योजना,राहत,सहुलियत छुटका प्याकेजको व्यवस्था गर्नुपर्छ । तिनै तहका सरकारबाट पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिई पर्यटनमैत्री नीति,योजना र कार्यक्रम संचालन गर्नुपर्छ ।

४) नेपालको कूल गार्हस्थ उत्पादनमा झन्डै २७.२५ प्रतिशत योगदान रहेको र करिब ६० प्रतिशत जनसंख्या आश्रित भएको क्षेत्र हो कृषि । कोरोनाको प्रभाव कृषि क्षेत्रमा झट्ट हेर्दा नदेखिए पनि कृषि क्षेत्रको विकास,उत्पादन र उत्पादकत्व बढाउन आवश्यक पर्ने मल,बीउ तथा अन्य कृषि सामाग्री आयात गर्न सकिएको छैन ।कृषिजन्य वस्तुको उत्पादन उत्साहजनक रुपमा हुन सकेको छैन । उत्पादित तरकारी,फलफुल र खाद्यान्नको आपूर्ति प्रणाली कमजोर छ ।कृषिजन्य वस्तु खरिद-बिक्रि गर्ने पशु हाटबजार,सागसब्जी हाटबजार,डेरी,सब्जी मण्डीहरु बन्द भएको अवस्था छ । उत्पादित दूध,तरकारी र अन्य कच्चा पदार्थ बजारको अभाव र मागको कमीले बारिमै कुहिने अवस्थामा छन । कृषि क्षेत्रका लागि चाहिने श्रमिकहरुको अभाव छ । लकडाउन र निषेधाज्ञाका कारण खाद्यान्न अभाव भई खाद्य संकटको अवस्था सिर्जना हुन सक्ने देखिन्छ । यसबाट संविधानले प्रत्याभूति गरेको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हक कुण्ठित हुन पुग्दछ । अत: कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै कृषि क्षेत्रलाई प्रतिस्प्रधी,दिगो,आत्मनिर्भर तुल्याई स्वाधिन अर्थतन्त्रको रुपमा विकास गर्न कृषि क्षेत्रमा नीतिगत,संरचनागत र संस्थागत सुधार  गर्नु जरुरी छ । यसका लागि सरकारले कृषि र कृषकलाई उच्च प्राथमिकता दिई राहत,सहुलियत,प्रर्याप्त मल,बिउबिजन र कृषि सामाग्रीको समयमै जोहो गर्नु पर्छ । कृषिलाई आधुनिक प्रविधिमा आधारित उद्यमको रुपमा विकास गर्न तर्फ उन्मुख हुनुपर्छ ।

५)कोरोना भाइरसले प्रभाव पारेको क्षेत्रहरु मध्ये सबैभन्दा बढी प्रभाव परेको क्षेत्र रोजगारी क्षेत्र हो । गत बर्ष कै कोरोना भाइरस महामारीबाट करिब १६ लाख श्रमशक्तिले रोजगारी गुमाएको र १२ लाख भन्दा बढी जनसंख्या गरिबिको रेखामुनी धकेलिएको अनुमान गरिएको छ । यो बर्ष अझै बढी रोजगारी गुम्ने र गरिबीको संख्या अझै बढने अनुमान गरिएको छ । विश्व मै हेर्दा पनि बेरोजगारीको समस्याका कारण  धेरै देशहरुको अवस्था नाजुक भैसकेको छ । गत बर्ष मात्रै अमेरिकामा करिब डेढ करोड मानिसहरुले बेरोजगार भत्ताको लागि आवेदन दिएका थिए । स्पेन,बेलायत,अष्ट्रेलिया जस्ता विकसित देशमा समेत लाखौँ मानिसले रोजगारी गुमाउनु परेको थियो । नेपालमा पनि भारत लगायत अन्य देशमा वैदेशिक रोजगारमा गएका श्रमिक रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएका र यसरी नेपालीहरु वैदेशिक रोजगारबाट फर्कदा देशको GDP को करिब २६ प्रतिशत योगदान गर्ने रेमिटेन्समा पनि धक्का पुग्दछ । उद्योग,कम्पनी र विभिन्न संघसंस्थामा काम गर्ने श्रमिक र दैनिक ज्यालादारी गरी खाने मजदुरहरुको रोजीरोटी गुमेको र घरमा खानाको जोहो गर्न हम्मे हम्मे परेको छ ।यसबाट गुणस्तरीय मानव पुँजीको विकासमा अवरोध सिर्जना हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई स्वस्थ,सबल र उत्पादनशिल बनाउन सकिदैन । त्यसैले कोरोनाले थलाथला पारेको अर्थतन्त्रलाई गतिशिलता दिन श्रम तथा रोजगारीको महत्वपूर्ण भूमिका रहन्छ ।कोरोना महामारीबाट उद्योग,व्यापार,पर्यटन,शिक्षा,यातायात,लगानी जस्ता क्षेत्रमा असर गरेको हुँदा यी क्षेत्रमा गुमेको रोजगारीलाई आंकलन गर्दै रोजगारीका उत्पादनशील र संम्भावित क्षेत्रहरुको पहिचान र अवसरको सिर्जना गर्न तीन तहका सरकारबाट आवश्यक पहल निति,योजना र कार्यक्रमको तय गर्नु जरुरी हुन्छ ।

६)अहिलेको विश्वव्यापिकरण,उदारिकरण र अन्तनिर्भर विश्व अर्थ व्यवस्थामा व्यापार र वाणिज्य क्षेत्रले तीव्र आर्थिक वृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । संविधानले नै राष्ट्रिय हित अनुकूल हुने गरि निर्यात प्रवर्द्धन तथा आयात व्यवस्थापन गर्दै सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कुराको प्रत्याभूति गरेको छ ।तर कोरोना महामारीका कारण थला परेको अर्को महत्वपूर्ण क्षेत्र पनि व्यापार-व्यवसाय हो ।आन्तरिक अर्थतन्त्र र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका रहने सुन चाँदि व्यवसाय,फेन्सी व्यवसाय,कस्मेटिक व्यवसाय,व्युटिपार्लश,हार्डवेयर,ठूलठूला सपिङ मल र मार्ट जस्ता व्यवसाय अहिले बन्द भएको अवस्था छ । यसबाट वैदेशिक व्यापार र आन्तरिक व्यापार दुवैमा विचलन आउनुका साथै ऋण लिएर व्यापार व्यवसाय गर्ने मानिसको अवस्था झन महामारीले भयावह बनाएको छ ।नेपालमा यस्ता थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान कूल ग्रार्हस्थ उत्पादनमा करिब १४ प्रतिशत रहेको छ । त्यसैले पनि यस क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भए पनि महामारीले पारेको असरलाई कम गर्दै गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन,आयात लाई व्यवस्थापन मार्फत व्यापार सन्तुलन गरी अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान अभिवृद्धि गर्नमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

७) रोजगारी सिर्जना,उत्पादन,वितरण गरी पूर्वाधार संरचना निर्माणमा लगानी अपरिहार्य छ । निजी क्षेत्रको लगानी बिना आर्थिक विकास र समृद्धिको कल्पना गर्न गाह्यो हुन्छ । तर कोरोना महामारीका कारण निजी क्षेत्र नराम्ररी प्रताडित भएका कारण स्वदेशी र विदेशी लगानि आकर्षित हुन र गर्न सकिएको अवस्था छैन । देशको आर्थिक विकासको ढोका खोल्ने विकासको साझेदार पात्र निजी क्षेत्र कोरोना भाइरसका कारण थिलथिलो परेको छ । निजी क्षेत्रको लगानी विना रोजगारीका बहुआयामिक क्षेत्र र तिनीहरुको विकास हुन गाह्यो हुन्छ ।सन २०३० सम्ममा दिगो विकासका लक्ष्य र नेपाल सरकारले लिएको “समृद्ध नेपाल :सुखी नेपाली” को दिर्घकालीन सोच हासिल गर्न ठूलठुला पूर्वाधारयुक्त संरचना र आधुनिक प्रविधिको क्षेत्रमा विदेशी लगानी परिचालन गर्नुपर्ने हुन्छ । यी सबै गर्न र थला परेको नेपाली अर्थतन्त्रलाई लिगमा ल्याउन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनको परिमार्जन,कर छुट सम्बन्धी विशेष प्याकेज , लगानी आकर्षित गर्ने नीति तथा योजना तय गर्नुका साथै विदेशी लगानीको प्रवेश देखि बहिर्गमन सम्मको सम्पूर्ण प्रक्रियालाई सरल,सहज,चुस्त दुरुस्त र प्रभावकारी बनाउनु जरुरि हुन्छ । स्वदेशी र विदेशी लगानी आर्कषण बिना कोरोनाले रोजगारी गुमाएका विभिन्न क्षेत्रका लाखौ लाख युवाले रोजगारी प्राप्त गर्न सक्ने अवस्था हुदैन । त्यसका लागि ठूलो मात्रामा रोजगारी सिर्जना हुने परियोजनामा लगानी आकर्षित गर्नु जरुरी हुन्छ ।

८)यातायात क्षेत्र देश विकासको लाईफ लाइनको रुपमा रहेको हुन्छ । समग्र यातायात क्षेत्रको विकासले देशको आर्थिक सामाजिक रुपान्तरणका लागि बलियो र भरपर्दो आधार निर्माण गरेको हुन्छ ।दिगो यातायात संरचना निर्माण गर्नमा कोरोना भाइरस एक शत्रुका रुपमा अगाडि आएको छ । कोरोना भाइरसकै कारण अहिले सार्वजनिक यातायात,हवाई यातायात,केवलकार,रेल-वे,जल र रोपवै लगायतका यातायात पूर्वाधारहरुको विकास,विस्तार र स्तरोन्नति हुन सकेको छैन ।यातायातका क्षेत्रमा काम गर्ने कयौँ कर्मचारी र मजदुरहरुले रोजगारी र आयस्रोत गुमाउनु परेको छ ।सर्वसाधारणको निर्वाध पँहुचका साथै आर्थिक वृद्धि र उन्नतिको सम्वाहकको रुपमा रहेको यातायात क्षेत्रले व्यापार व्यवसाय तथा सेवालाई सहजीकरण गर्नुका साथै जलविधुत,उद्योग,सञ्चार,पर्यटन,कृषि र ग्रामिण विकास प्रत्यक्ष/अप्रत्यक्ष रुपमा उल्लेखनीय योगदान गरिरहेको हुन्छ ।

अत: कोरोना कहरका कारण काठमाडौँ लगायत ठूला-ठूला शहरी क्षेत्रमा वायु र ध्वनी प्रदुषण नियन्त्रण भई वातावरणीय स्वच्छता कायम भए पनि कोरोना कै कारण यो क्षेत्र नराम्ररी प्रभावित भएको हुँदा यस क्षेत्रलाई सुरक्षित रुपमा सम्न्वयात्मक र सजकतापूर्वक स्वास्थ्य मापदण्ड पालना गर्दै प्रभावकारी ढंग बाट संचालन र व्यवस्थापन गर्नु जरुरी हुन्छ ।

निष्कर्ष

महामारी र त्यसको प्रभावलाई नियन्त्रण गर्नका लागि सरकारको मात्र एकल प्रयासले सम्भव हुदैन यसलाई परास्त गर्न सम्पूर्ण नागरिक,सरकार,समाज र समुदायको हातेमालो हुनुपर्दछ ।जनताले पनि स्वास्थ्य मापदण्ड पालना गर्नमा इमान्दारिता,सक्रियता र तत्परता देखाउनु पर्दछ ।महामारीले धनी/गरिब र ठुलो/सानो नभन्ने हुँदा यस्तो अवस्थामा सबैले आफ्ना इच्छा,आंकक्षा र आवश्यकतालाई दबाउदै सरल र सहज जीवन जिउँदै कोरोना सँगको सरकारको लडाई सँग जुध्नु पर्दछ । अर्थतन्त्रलाई पनि सबल र गतिशिल बनाउन कृषि तथा साना , घरेलु उद्योगलाई प्रवर्द्धन गर्ने,उद्यमशिलताको विकास गर्ने,कृषि लाई सम्मानजनक पेशाको रुपमा विकास गरि तरकारी,फलफुल,माछा मासु लगायत प्रमुख खाद्यान्न बालिमा आत्मनिर्भर बन्ने ।

उद्योगको उत्पादन र उत्पादकत्व बढाउदै गुणस्तरीय र प्रतिस्पर्धात्मक वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने,बिलासी वस्तु,सुन चाँदी लगायतका वस्तुको आयातलाई क्रमश: नियन्त्रण गरि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने, रोजगारी र स्वरोजगारीका व्यापक अवसरहरुको सिर्जना गर्ने,निजी क्षेत्रलाई निरुत्साहित हुन नदिने,लगानी आकर्षित गर्ने,करका दरमा पुनरावलोकन र प्रगतिशिल कर नीति अख्तियार गरि राजश्वलाई बढावा दिने,सार्वजनिक खर्चलाई मितव्ययी र पारदर्शी बनाउने,साना व्यवसाय र ऋण लिई भर्खर व्यापार व्यवसाय गर्नेलाई ब्याज अनुदान,छुट सहितको सहुलियतपूर्ण कर्जा तथा पुर्नकर्जाको व्यवस्था गर्ने । यसरी विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोराना भाइरस संक्रमण(कोभिड-१९) को नकारात्मक असर न्युनीकरण गर्न तथा अर्थतन्त्रको पुनरोत्थान गर्न माथि उल्लेखित विषयक्षेत्रबाट उपयुक्त नीति,योजना,रणनीति र कार्यक्रमका माध्यमबाट सुशासन,विकास र समृद्धि हासिल गरी स्वाधिन,आत्मनिर्भर,समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्रको विकास हुने परिकल्पना गर्न सकिन्छ ।

 

 

 

 

  • Saptarangi Media
  • सोमवार, जेष्ठ १०, २०७८ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।