कर्णाली प्रदेशको फुटबल बिकासको लागि मूख्यमन्त्रीको गहिरो चासोः एन्फा कम्प्लेक्स भ्रमण र एन्फा पदाधिकारीहरुसँग भेटघाट



 

कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूले कर्णाली प्रदेशको फुटबल विकासको लागि हातेमालो गरिदिन एन्फासंग आग्रह गरेका छन् ।

मंगलबार एन्फा कम्प्लेक्समा पुगेर मुख्यमन्त्री शाहीले समग्र प्रदेशको फुटबल विकासको योजना बनाउनका साथै सहयोग गरिदिन आग्रह गर्दै सो को लागि बजेटको व्यवस्था गर्ने बताए ।

‘एन्फामा भएको प्राविधिक जनशक्तिलाई उपयोग गर्दै कर्णाली प्रदेशको फुटबल विकासको कार्यक्रम बनाईदिनको लागि एन्फाका अध्यक्ष तथा अन्य पदाधिकारी समक्ष मुख्यमन्त्री शाहीले अनुरोध गरे ।

सो अवसरमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मुख्यमन्त्री शाही समक्ष आफ्ना योजना तथा कार्यक्रम समेत प्रस्तुत गर्दै कर्णाली प्रदेशमा फुटबलको राम्रो सम्भावना रहेको बताएका थिए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मुख्यमन्त्री शाही समक्ष आफ्ना योजना तथा कार्यक्रम समेत प्रस्तुत गर्दै कर्णाली प्रदेशमा फुटबलको राम्रो सम्भावना रहेको बताएका थिए ।

‘कर्णाली प्रदेशमा फुटबलको सम्भावना धेरै छ । प्रदेश सरकारसंग मिलेर प्रशिक्षक, रेफ्री र ग्रासरुटको कार्यक्रम तत्काल सुरु गर्न सकिन्छ ।’ शेर्पाले मुख्यमन्त्री शाहीलाई भने ।

सो अवसरमा एन्फा अध्यक्ष शेर्पाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा धेरै दर्शक अट्ने प्रदेश स्तरको रंगशाला बनाउन मुख्य मन्त्रीलाई सुझाएका थिए ।

‘नवौं राष्ट्रिय खेलकुद पनि कर्णाली प्रदेशमा हुने भएकोले सुर्खेतमा धेरै दर्शक अट्ने प्रदेश स्तरको रंगशाला तुरुन्त बनाउन पहल गर्नु पर्ने जोड दिंदै अन्य प्रदेशबाट राम्रो टिम आउने भएकाले पनि रंगशाला बनाउनुपर्छ ।’ शेर्पाले भनेका थिए ।

भौगोलिक अवस्थाका कारण कर्णाली प्रदेशका माथिल्ला भेगका जिल्लामा प्राकृतिक मैदान बनाउन कठिन हुने भएकोले एन्फा अध्यक्ष शेर्पाले कर्णाली प्रदेशका अन्य जिल्लामा फुटबलको प्रशिक्षण केन्द्र सहित प्रशिक्षणका लागि आर्टिफिसियल टर्फ बनाउन मुख्यमन्त्रीलाई सुझाएका थिए ।

‘ एन्फाले कर्णाली प्रदेशमा उमेर समूहका नियमित प्रतियोगिता सहित, ग्रासरुट, जिल्ला, स्कुल र क्लब स्तरीय प्रतियोगिता सञ्चालन गर्न विभिन्न कार्यक्रमहरु ल्याउन मुख्यमन्त्रीलाई सुझाएको छ ।

मुख्यमन्त्री शाहीले एन्फाले योजना प्रस्ताव गरेपछि छलफल अघि बढाउने र सोहि आधारमा कर्णाली प्रदेशमै बसेर अन्तिम रुप दिने योजना अघि सारेका थिए ।

सो अवसरमा कर्णालीको भौगोलिक अवस्थालाई दृष्टिगत् गरि आर्टिफिसिल टर्फ बनाउन सकिने सम्भावनाको लागि मुख्यमन्त्री शाहीले एन्फा कम्प्लेक्समा रहेको आर्टिफिसियल टर्फको समेत अवलोकन गरेका थिए ।

 

श्रोतः खेलपाटी

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्