सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।
यसअघि सरकारले भदौ १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन गर्न दिने अनुमति दिएको थियो । सीमा नाका भने भदौ मसान्तसम्म बन्द गर्ने बैठकले निर्णय गरेको छ ।
सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।
काठमाडौँ उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको सङ्गठन ‘नगरपालिका मेयर फोरमले गरेको आग्रहमा सरकारले यस्तो निर्णय गरेको हो ।
त्यस्तै भदौ १ गतेदेखि सञ्चालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि रोक लगाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताउनु भएको छ ।
कलकारखाना, उद्योग, निर्बाध रुपमा सञ्चालन भई मजदुरहरूको दैनिक आवतजावत बढेकाले सङ्क्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाइ गर्ने निर्णय गरेको छ । साथै, उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाइ गर्ने निर्णय गरेको छ ।
त्यसै गरि सरकारले भदौ १५ गतेसम्मका लागि कुनै पनि खेल गतिविधी र प्रशिक्षण गतिविधी गर्न नपाउने निर्णय गरेको छ ।
यो आकस्मिक निर्णयपछि भदौ एक गतेबाट अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विश्वकप छनोटको तयारी अन्योलमा पर्ने भएको छ । एन्फाले भदौ एकगतेबाट प्रशिक्षण सुरु गर्ने तयारीका साथ सोमबारबाट खेलाडी र कर्मचारीको कोरोना परिक्षण सुरु गरिसकेको छ ।
काठमाडौंमा कोरोना र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दै गएकाले सरकारले नै यसअघिको निर्णयलाई परिवर्तन गर्दै १५ दिनका लागि लम्ब्याउने निर्णय गरेको हो ।
नेपालमा पछिल्लो पटक कोरोना संक्रमण दिनकै तीन चार सयको हारहारीमा बढिरहेको छ । काठमाडौं उपत्यकामा मात्र ११ सय भन्दा बढि संक्रमित भइसकेका छन ।
यता नेपाल क्रिकेट संघ क्यानले भने यसअघि नै भदौमा हुने भनिएको प्रशिक्षण तत्काल नहुने बताइसकेको छ । यो बर्ष नेपाली क्रिकेट टिमको कुनै पनि प्रतियोगिता नभएको भन्दै प्रशिक्षणपनि अहिले नगर्ने बताएको छ ।
यस्तै टोकियो ओलम्पिकको तयारीमा रहेको करातेको प्रशिक्षणपनि अब रोकिने संभावना रहेको छ ।