कराँते खेलले मेरो जीन्दगी कायापलट गरेको छः धर्मविर बुढा, पूर्व कराँते प्रशिक्षक, हुम्ला



नितान्त फरक खेल, खेलकूद बारे शायद कुनै जानकारी भएको पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई नियाल्ने हो भने धर्मविर बुढा कुनै दिन कराँते खेलाडी हुँदै आफ्नै जिल्लाको प्रशिक्षक समेत बन्लान भनेर शायद कसैले सोचेको थियो होला । तर उहाँको यात्रा खोतल्दै जाँदा यदि कसैले दिलोज्यानले मेहनत गरेको खण्डमा त्यो अवश्य सम्भव छ भन्ने लाग्न सक्छ । शायद युवा अवस्थामा मेहनत गर्ने बानिलेनै होला अहिले पनि उहाँमा यूवा जोश र जाँगर देख्न सकिन्छ ।

खेलाडी जिवनको शुरुवात्
आज भन्दा लगभग ४६ वर्ष अघि नेपालको अति दुर्गम जिल्ला हुम्लाको जैरमा माता बिसकला बुढा तथा पिता खाम्पा बुढाको कोखबाट जन्मिदा हालसम्म खेलकूदले कुनै पनि प्राथामिकता नपाएको जिल्लाको व्यक्तिले झन् त्यसबेलाको खेलकूद पृष्ठभूमीमा शायद कहिल्यै उहाँको जीवनमा ठूलो क्रान्तिकारी परिवर्तन ल्याउला भनेर सोचेका थिए । तर मेहनतीको अगाडी दैव पनि नमस्तक हुन्छन् क्यारे । उहाँलाई आफ्नो कराँते खेलाडी तथा प्रशिक्षकको यात्रा एउटा सपना जस्ता लाग्छ रे ।

एक समय कराँते प्रतिबन्धित थियो र यस सम्बन्धि धेरै भन्दा धेरै कम मानिसहरुलाई यस बारे जानकारी थियो र संचार सुविधाको पहुँच भन्दा एकदम टाढा रहेको जिल्लाको व्यक्ति यस खेलबारे कसरी जानकार भए र यो सिक्न कसरी जाँगर चलाए त? उहाँ सम्झिनु हुन्छ “२०४६ सालमा मुगुमा स्कूलमा पढ्दा एक जना कराँते सम्बन्धि जानकार भएका सर हुनु हुन्थ्यो । उहाँले अलि अलि किक पन्च हान्न सिकाउनु हुन्थ्यो । त्यसैबेला देखि कराँते सिक्न उहाँका हात खुट्टा चिल्याउन थालि सकेका थिए तर जिल्लामा त्यो सम्भव थिएन । एस.एल.सि. पास गरेर उच्च शिक्षाको लागि काठमाडौं आईसकेपछि यो खेल औपचारिक रुपमा दशरथ रंगशालामा सिकिन्छ भनेर थाहा पाईसकेपछि मैंले तत्काल दुई वटा निर्णय गरेंः एउटा कराँते सिक्ने र अर्को कानून पढ्ने । जबकि मैंले एस.एल.सि. मा राम्रो नतिजा आएको कारण अमृत साइन्स क्याम्पसमा विज्ञान पढ्न नाम निस्कि सकिएको थियो” तर यी दुईटा निर्णय गर्नु पछाडीका कारणहरु खोताल्दा उहाँ अलि बढि आन्दोलित हुँदै भन्नु हुन्छ “सानैदेखि मैंंले गाउँले जमिन्दारहरुबाट थिचो मिचो सहनु परेको थियो र मनमा सधैं तिनिहरुलाई तह लगाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो र पछि मौका पाउँदा कराँते सिकेर शारिरीक रुपमा दण्ड दिने र कानून पढेर मानसिक रुपमा दण्ड दिने सोच बनाएँ र त्यसै अनुसार कराँते सिक्न रंगशालामा भर्ना भएँ भने कानून् पढ्न नेपाल ल क्याम्पसमा । बिहान २ घण्टा र बेलुका २ घण्टा गरि दिनको ४ घण्टा प्रशिक्षण गर्न थालें । फलस्वरुप तिन महिनामै म त्यस बेलाका कराँते प्रमुख गुरुहरु श्री थानेश्वर राई र श्री दावा गुरुङ्गको नजरमा परि सकेको थिएँ र उहाँहरुले मलाई एकैचोटि सिनियर खेलाडीहरुको समूहमा सामेल गराउनु भयो ।” न तपाईको उहाँहरुसँग भौगोलिक नाता तथा अन्य कुनै नाता? किन तपाईलाई यतिबिध्न माया गर्नु भएको त भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ “उहाँहरुले मलाई होईन मेरो मेहनत, लगनशिलता, इमान्दारिता तथा समर्पण देख्नु भएको रहेछ र मलाई मेरो जिल्लाको प्रशिक्षक बनाउने सपना देख्नु भएको रहेछ । उहाँहरुले मलाई व्यक्तिगत् रुपमा भेटेर कराँते एउटा अफिसियल खेल हो र यो कुनै कुटपिट गर्ने गराउने खेल होईन र यसमा पारङ्गित भई जिवनमा सफलता प्राप्त गर्न सकिन्छ र तिमि एउटा कुशल प्रशिक्षक बनि आफ्नो क्यारियर बनाउन सक्छौ भनि यस सम्बन्धि सम्पूर्ण सैद्धान्तिक ज्ञान दिनुका साथै मेरो मानसिकतामा पुरै परिवर्तन गरिदिनु भयो । सोहि अनुसार सिनियर टिममा रहँदै दिनको कम्तिमा ४ घण्टा प्रशिक्षण गर्दै २० महिनामा कराँतेको फष्ट डन (ब्ल्याक बेल्ट) प्राप्त गर्न सफल भएँ र यसरी मेरो खेलाडी जिवनको यात्रा शुरु भयो ।”

प्रशिक्षक जिवन
“मेरो कडा मेहनतको फलस्वरुप र श्री थानेश्वर राई र श्री दावा गुरुङ्ग गुरुहरुको साथ र सहयोगले राष्ट्रिय खेलकूद परिषद्बाट हुम्ला जिल्लाको लागि २०५२ भदौ ३० गते अस्थायी नियुक्त पाई असोज २० गते हुम्लाको सिमिकोटमा गई औपचारिक रुपमा कराँते सिकाउन थालें ।”

तर हुम्ला जस्तो ठाउँमा कराँतेको कुनै पृष्ठभूमी नभएको र जनताहरुमा खेलकूद सम्बन्धि कुनै ज्ञान तथा संस्कृति नभएको ठाउँमा कराँतेको लागि खेलाडीहरु जम्मा गर्न कतिको सजिलो गाहृो भएको थियो? “एक हप्ताको दौडधुप पश्चात् लगभग ५० जना जत्ति खेलाडीहरु भर्ना भएका थिए जस्मा मैंले सम्झिने नामहरुमा हालका कर्णाली योजना आयोगका अध्यक्ष डा. दिपेन्द्र रोकाया, शिक्षक भुपेन्द्र उपाध्याय, हाल जिल्लाका नेपाली काँग्रेसका यूवा नेता चन्द्र रावल, अन्य सम्झिने नामहरुमा मेज बुढा तथा महिला खेलाडीहरुमा बलराज शाहीज्यूको छोरीहरुका साथै अन्य ६,७ जना महिला खेलाडी हुनु हुन्थ्यो । तर सबैको कराँतेप्रतिको ज्ञानको सिमा भनेको कराँते सिकि खेलाडी बन्ने भन्दा पनि यो सिकेर ज्यान बलियो बनाउने भन्ने सम्म मात्र सिमित् थियो र उहाँहरुलाई मैंले धेरै भन्दा धेरै कराँते सम्बन्धि सैद्धान्तिक ज्ञानहरु दिन थालें र उहाँहरुको मानसिकतामा परिवर्तन ल्याउने कोशिश गर्न थालें ।”
जिल्लामा खेलकूद पूर्वाधार कस्तो थियो र प्रशिक्षणको लागि को को महानुभावहरुले सहयोग गर्नु भएको थियो? उहाँ भन्नु हुन्छ “जिल्लामा एउटा कभर्ड हल थियो जुन गाई गोठ जस्तो थियो त्यसैले त्यहाँ सिकाउन सम्भव भएन । त्यसैले त्यसबेलाको भलिवल ग्राउण्डमा बिहान ५ बजेदेखि तालिम दिन्थें । तर हुम्लामा हालसम्म पनि एउटा गतिलो कभर्ड हल बन्न नसकेको अवस्था छ ।”
तपाईको प्रशिक्षण कालमा कुनै सरकारी पदाधिकारी जिल्ला तहका कुनै नेता तथा कसैले सम्झन लायक कुनै सहयोग गर्नु भएको सम्झना छ? उहाँ सम्झनु हुन्छ “मेरो सम्झनामा पूर्व संस्कृति तथा पर्यटन मन्त्रि तथा हाल प्रदेश सरकारका प्रतिपक्ष दलका नेता तथा तत्कालिन जि.बि.स. सभापती श्री जिवन बहादुर ज्यूले सम्झना लायक धेरै सहयोग गर्नु भएको थियो । कुनै पनि राजनैतिक पूर्वाग्रह नराखी विशुद्ध खेलको प्रवद्र्धनको लागि समय समयमा खेलाडी छनौटको लागि जि.बि.स. हल उपलब्ध गराउनुको साथै आर्थिक सहयाता पनि उपलब्ध गराउनु हुन्थ्यो जबकि त्यसबेला खेलकूद सम्बन्धि सम्पूर्ण जिम्मेवारी जिल्ला प्रसासन कार्यालय मातहत् हुन्थ्यो । मेरो प्रशिक्षक कालमा उहाँ जस्तो खेलकूद बुझ्ने मानिस् अरु कोहि पनि देखिन” ।
यसरी सिक्दै सिकाउँदै विभिन्न अनुभवहरु सँगाल्दै जाने क्रममा उहाँको ९ वर्षको अटुट सेवाको फलस्वरुप उहाँलाई २०६१ श्रावण ३२ गते स्थायी बनाईयो र फेरि उहाँ स्थायी प्रशिक्षकको रुपमा भदौ १५ गते जिल्ला तिर लागे र फेरि कराँते सिकाउन थाले । उहाँ एउटा रमाईलो तर तितो यथार्थ सम्झनु हुन्छ “कराँते बिहान ५ बजे शुरु हुन्थ्यो र कराँते सिकाउने स्थल जि.प्र.का. सँगै रहेको प्रहरी कार्यालयको चौरमा थियो । त्यसबेला माओवादी जनयुद्ध शुरु भईसकेको थियो । कराँते खेल्दा सबै खेलाडीले आवाज निकाल्नु पर्ने हुन्छ तर त्यसबेलाका प्र.जि.अ. ज्यूलाई शायद कुरा थाहा नभएर बिहान सबै खेलाडी आवाज निकालेर कराँते खेल्दा माओवादीहरु आएको भन्ठानी नजिकै रहेको जि.बि.स. कार्यालयतिर दौडिनु भएको थियो । पछि उहाँले खेलकूद परिषद्मा फोन गर्नु भएछ र खेलकूद परिषद्ले २०६१ फाल्गूण २८ गते मेरो चालचलन बुझ्न खोज्दै गोप्य पत्र पठाएछ र जि.प्र.का. कार्यालयले मेरो चालचलन, आचरण, अनुसासन् सबै राम्रो रहेको र कुनै राजनैतिक संलग्नता नरहेको र जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै उहाँलाई काजमा फिर्ता बोलाउनु पर्ने व्यहोराको पत्र पठाएछन् र खेलकूद परिषद्को बोलावटमा म काजमा काठमाडौंमा फर्कें र सानो गौचरण, इचंगुनारायण जस्ता डोजोहरुमा यतैका स्थानीय तथा हुम्लाका कराँते खेलाडीहरुलाई प्रशिक्षण दिन थालें । त्यसबेलाका मेरा चेलाहरुमा २०५८ सालको राष्ट्रिय खेलको लागि हुम्ला जिल्लाबाट सहभागी भई क्षेत्रिय प्रतियोगितामा ६५ के.जि.मा स्वर्ण पदक प्राप्त गरि छनौट हुने यस पत्रिकाका सम्पादक प्रीति बहादुर राउत (रावल), हाल जिल्ला समन्वय समितिका उपाध्यक्ष खगेन्द्र कार्की तथा हालका डि.एस.पि. प्रल्हाद अधिकारी थिए । त्यसैगरि मैंले लगभग २५० जना जति खेलाडीहरुलाई ब्ल्याक बेल्ट दिलाएको थिएँ ।”

बैदेशिक रोजगारमा कराँतेको भूमिका
रु. २७०० बाट अस्थायी प्रशिक्षक जिवन शुरु गरि स्थायी प्रशिक्षक हुनुका साथै शैक्षिक योग्यताले बि.एल. पास गरि सर्वोच्च अदालतमा अस्थायी सुब्बाको जागिर पाएता पनि किन बैदेशिक रोजगार बाटो समाउनु भयो त भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ “त्यसबेलाको तलवले मुश्किलले खान लाउन पुग्थ्यो । सन्तानको भविश्यको लागि बैदेशिक रोजगारमा जान बाध्य हुनु प–यो तर मकाउमा बैदेशिक रोजगारमा म कराँते खेलाडी भएकै कारणले छनौट भएको तथ्य म कहिल्यै भुल्दिन ।

 

लगभग ५०० जना प्रतिस्पर्धिहरुलाई पछाडी पारेर ५५ के.जि.को मान्छेले ५ के.जि. केरा खाएर ६० के.जि.को तौल पु–याई चाईनिज छनौटकर्ताद्धारा टप टेनमा परि मकाउको लागी छनौट भएको र यस्मा मेरो कराँतेको लगाव, प्रशिक्षकको अनुभव तथा संघर्षले धेरै काम गरेको थियो जस्को फलस्वरुप हाल म छोराहरुलाई उनिहरुले खोजेको शिक्षा दिक्षा दिन तथा काठमाडौंमा घरबार जोड्न सफल भएको छु । त्यसका साथै मकाउमा स्थायी बासिन्दाको कार्ड प्राप्त गरि अर्धसरकारी जागिर पाएको छु जस्ले गर्दा भविश्यमा कराँतेलाई धेरै भन्दा धेरै योगदान सक्छु जस्तो लाग्छ ।”

जिल्लामा खेलकूदको विकास र भविश्यको योजना

तपाई खेलाडी तथा प्रशिक्षक जिवनमा सफल हुनु पछाडी जिल्लाको भौगोलिक स्थिती, माटो तथा वातावरणको कस्तो भूमिका छ भन्ने प्रश्नमा उहाँ जोश तथा जाँगरका साथ भन्नु हुन्छ “मैंले पहिले भनिसकेको छु कि म कराँते खेल्न शुरु गर्दा रंगशालामा हजारौं खेलाडीहरु खेल्न आउँथे । तर मैंले जस्तो मेहेनत गर्न सक्दैनथे । शायद हाम्रो भौगोलिक स्थिती, हावापानी तथा माटोले खेलाडीमा हुनु पर्ने गुणहरु जन्मे देखिनै ल्याएका हुन्छौंकि जस्तो लाग्छ र यदि सम्बन्धित निकायले समयमा ध्यान दिएको खण्डमा हाम्रो जिल्लाबाट एक से एक खेलाडी उत्पादन गर्न सक्छौं किनभने शारिरीक तथा मानसिक रुपमा हाम्रा बालबालिका तथा यूवाहरु बलिया छन् तर तिनिहरुलाई सहि मार्गमा डो–याउने हातको मात्र खाँचो छ ।”
गाउँबाट उठेर राष्ट्रिय स्तरमा पुग्न कति कठिन हुन्छ त्यो उहाँलाई बाहेक अरु कसलाई थाहा होला र? आफुल भोगेको जस्तै दुःख नयाँ पुस्ताले भोग्न नपरोस भन्नका लागि उहाँ जिल्ला तथा प्रदेशमा खेलकूद बुझेको खेलाडी पृष्ठभूमि भएको खेलकूदको लागि मरिमेट्ने नेतृत्वको आवश्यकता छ भन्ने कुरामा जोड् दिनु हुन्छ । “मलाई देखेर कति भाई बहिनिहरुले कराँते खेल्न शुरु गर्नु भएको होला र चाहन्छन् पनि होला । म पनि विकटबाट आएको हुँ”, उहाँले भन्नु भयो, “त्यस्तै क्षमता भएका भाई बहिनिहरुलाई सहयोग गर्ने मेरो उद्देश्य हो । म सबैको सहयोगले यहाँ पुगें । म पनि यूवा पुस्तालाई सहयोग गर्न चाहन्छु । त्यस्को लागि मेरो एकल उद्देश्यमा साथ दिन सरोकारवाला निकायहरुको साथै नेतृत्वले पनि ध्यान दिन आवश्यक छ । मलाई कराँते खेल्न मन पर्छ । खेलकुद मन पर्छ तर मेरो खेल्ने उमेर गईसक्यो । तैपनि अरुलाई अघि बढ्न मद्दत् गर्नेछु । मेरा बाँकि सपनाहरु भविश्यका खेलाडीहरु पुरा गर्नुछ । कराँतेबाट जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता पाउने सम्भावना एकदम बढि भएकोले नयाँ खेलाडीहरु उत्पादन गर्न तथा खेलाडी भाई बहिनीहरुलाई सम्बन्धित निकायलाई झक्झयाउन आग्रह गर्दछु ।”
सरकारले कराँतेमा केहि लगानी गर्ने, खेलकूद समितिले पनि त्यहि अनुरुप योजना बनाउने हो भने आउने वर्षमा कराँतेले अझै प्रगती गर्न सक्ने दाबी धर्मबिर गर्छन् । “कराँतेमा युवा पुस्ताको आकर्षण छ । कराँतेकै माध्यामबाट विभागीय टोली (सेना, प्रहरी, शसस्त्र) मा आबद्ध हुन पाईन्छ भन्ने पनि युवा पुस्तामा विश्वास छ”, उनले भने, “यो कराँतेको लागि राम्रो हो । खेलाडी उत्पादन, खेलाडीलाई एक्सपोजर दिने हो भने कराँत धेरै माथि जान सक्छ ।”

 

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्